MENU

संगीतद्वारा मुस्कान ल्याउन जारी राख्नेछु ।

目次

संगीतद्वारा मुस्कान ल्याउन जारी राख्नेछु ।

नमस्कार, म एफमो जापानबाट । म जन्मजात आंशिक बहिरा वा एक सुस्त-श्रवण भएको व्यक्ति हुँ । मैले प्राथमिक तहमा प्रवेश गर्दा पहिलोपल्ट मलाई श्रवण-यन्त्र लगाउन दिइयो तर त्यतिखेर मलाई सुन्नमा समस्या छ भन्ने कुरा म आफैंलाई थाहा थिएन । अचेल म परिस्थितिको आधारमा तीन फरक प्रकारका श्रवण-यन्त्र प्रयोग गर्छु । बाहिर जाँदा कानभित्र छिराउने श्रवण-यन्त्र प्रयोग गर्छु भने गाडी चलाउँदा हाड-मांसपेसीसित सम्पर्क गर्ने खालको अनि संगीत सुन्दा चाहिं कानपछाडि राख्ने खालको प्रयोग गर्छु।

मानसिक तथा शारीरिक रुपमा पीडित हुँदा मैले वास्तवमा विगतमा धेरै पटक आफूले माया गरेको संगीत छाड्ने बारेमा पनि सोचेको थिएँ  । त्यैपनि मैले अझै पनि गिटार बजाइरहनुको कारण मेरा साथीहरु र प्रशंसकहरु हुन् जसले मलाई संगीतको माध्यमबाट मानिसहरुको अनुहारमा मुस्कान ल्याउनको लागी सधैं प्रोत्साहित गरे।

मैले दाइलाई गितार बजाएको देखेर पहिलोपल्ट पाँचौं कक्षामा पढ्दा आफूले पनि गितार बजाउन शुरू गरें । दाइले मलाई केही आधारभूत गिटार-कर्ड सिकाउनुभयो अनि त्यसैले, मैले पहिलोपल्ट गितार पाउने बेलासम्म म जान्ने भइसकेको थिएँ । त्यसपछि मैले घरमै उपलब्ध ‘हिउँको थोपा’ भन्ने गीतको कर्डमा आधारित अभ्यास शुरू गरे। एकदिन साथीहरुसँग स्कूलमा संगीत कक्षामा हुँदा मैले आफैंले यत्तिकै गितार बजाएँ तर मेरा साथीहरुले भने, “वाह! कति राम्रो !” I उनीहरुको यही पहिलो प्रतिक्रियाले नै मलाई हौसला दियो अनि तबदेखि नै मैले मानिसहरुको सामु गिटार बजाउन थालें। साथीहरुले मेरो प्रशंसा गरेकोले र म मानिसहरुलाई मुस्कान दिन सक्षम भएकोले मलाई धेरै खुशी लाग्यो।

यसको ध्वनि र कम्पनले गर्दा मलाई संगीत नशाझैं लागेको छ र मलाई यसका विभिन्न विधा सुन्न, आफ्नो शरीरमा त्यसको कम्पन महसुस गर्न अनि आफ्नै तरिकामा बजाउन सबैभन्दा रमाईलो लाग्छ । मैले ब्यान्ड गठन गरेको छु र गीत पनि लेखेको छु तर म अझै पनि गिटारमा एकल कभर गीतहरु बजाउन बढी रुचाउँछु। मेरो यस्तो रुचिको कारण यो होजस्तो लाग्छ किनकि म गीतलाई आफ्नै तरीकाले, आफ्नै ताल वा गतिमा गाउन सक्छु जुन सुन्नेहरूलाई मनपर्न सक्छ ।

मलाई मेरो सुन्ने समस्याको कारण मेरो सांगीतिक गतिविधिमा बाधा पर्छ कि पर्दैन भनेर कहिलेकाहीँ सोधिन्छ तर म भन्छु ‘अहँ पर्दैन’ । भलै, मेरो संगीत मूल संगीतसित १००% मेल नखाला, यसमा मलाई कुनै पीर छैन तर म यस्तो गीत बनाउनमा आनन्दित हुन्छु किनकि त्यसलाई मैले मात्र व्यक्त गर्न सक्छु I ब्याण्डमा हुँदा म जहिल्यै अरुसँग तालमेल मिलाउन नसकूँला कि भनेर चिन्तित हुन्थें तर अरु ब्याण्ड-सदस्यले मिलाएरै छाड्थे वा भनूँ न, ती सुन्न सक्ने सदस्यले मेरै तालमा ताल मिलाइदिन्थे जसले गर्दा हाम्रो प्रस्तुति एकदम पृथक खालको हुन्थ्यो ।

विगतमा विभिन्न पारिवारिक कारणले गर्दा मैले झन्डै संगीत छाड्ने निर्णयमा पुगेको थिएँ । मेरा साथीहरु र म महिनामा एक पटक मात्र भएपनि संगीत बजाउँथ्यौं तर हामी सबै आ-आफ्ना काममा व्यस्त भएकाले हामीलाई एक साथ भेला हुन पनि गाह्रो हुन थाल्यो । त्यसैगरी,एक दिन मैले गिटार र बास प्रयास गर्दै गर्दा मलाई टेन्डिनाइटिस भन्ने रोगले समात्यो जसकारण मैले लामो समय गितार बजाउन सकिनँ । निको भएपछि फेरि पनि बजाउन सुरु गरें तर थुप्रैपल्ट मेरो रोग बल्झिएर धेरै दुःख भयो ।  त्यसैबेला, एकदिन त्यतिकै मैले एक सामाजिक संजालमा खाता खोलें र त्यहाँ थुप्रै मानिसहरुले आफ्ना संदेश विश्वसामु पुराउन निरन्तर प्रयास गरिरहेको देखें अनि त्यहाँ त्यस्ता मानिसहरु पनि देखें जो आफ्नो समस्याको बावजुद पनि संगीतमा लागेका थिए । उनीहरुलाई देखेर, मैले पनि हार नमान्ने प्रेरणा पाएँ ।

त्यसपछि मैले आफूले गितार बजाएको भिडियो सामाजिक संजालमा पोस्ट गर्न थालें जसले गर्दा मेरो धेरैजनासित सम्पर्क हुन थाल्यो र यसैकारण आज, मेरा फलोवरहरुको संख्या चार हजारभन्दा बढी भएको छ । मेरो सपना एकदिन आफ्नै एउटा सहकार्य परियोजना बनाउने छ अनि सामाजिक संजालको उपयोगद्वारा प्रत्यक्ष प्रसारण गरी प्रसिद्ध acapella गायक वा shamisen ब्याण्डसित मिली सांगीतिक प्रस्तुति गर्ने मन छ ।

संगीत मेरो उर्जाको स्रोत हो र मलाई लाग्छ कि मेरो संगीतले अरुलाई केही न केही तरीकाबाट मद्दत गरीरहेको छ । सानो हुँदा सुन्ने समस्याको कारण म जहिल्यै होंच्याइन्थें, त्यसैले म अब यस्तो दुर्व्यवहार बिस्तारै बिस्तारै हटाउन चाहन्छु ।  मलाई मेरोजस्तै स्थिति भएका धेरै मानिसहरु छन् भन्ने थाहा छ र म संगीतको माध्यमबाट हामी सुस्त-श्रवणले पनि संगीत साधना गर्न सक्छौं भन्ने संदेश दिंदै सबैको अनुहारमा मुस्कान ल्याउन चाहन्छु । धन्यवाद !

Nepali Sign Language

皆さんの友達にも届きますように。Please Share!!
目次
閉じる