MENU

भावी पुस्तासँग भविष्य निर्माण गर्दै ।

目次

भावी पुस्तासँग भविष्य निर्माण गर्दै ।

नमस्कार, म सातो इशिकावा जापानबाट । जापानी सांकेतिक भाषा (JSL)प्रयोगकर्ता कर्मचारीको रूपमा म २०२१, अप्रिलदेखि ‘ए-टोन जुकु’ भन्ने क्र्याम स्कूलमा काम गरीरहेको छु। यो स्कूल विशेषगरि ०-१८ वर्षका बहिरा बच्चाहरुको लागि हो। त्यसैले, JSL यहाँ सामान्य भाषाको रूपमा प्रयोग गरिन्छ। गर्मी बिदाको समयमा पनि यो स्कूल व्यस्त रहन्छ र यहाँ आउने विद्द्यार्थीहरुले नियमित स्कूलमा भन्दा यहाँ बढी जाँगर देखाउँछन्। जे होस्, मलाई यो स्कूल मनपर्छ किनकि पूर्ण आत्मसन्तुष्टिका साथ म यहाँ काम गर्छु। मलाई वास्तवमा यात्रा गर्न तथा नयाँ कुरा जान्न मनपर्छ, त्यसैले, जब विद्यार्थीहरुले अप्रत्याशित जागरूकता व्यक्त गर्छन्, मेरा लागि ती पनि नयाँ खोजहरु बन्छन्।

हाम्रो विद्यालयमा ०-२ बर्ष उमेरका शिशुहरु बिहानदेखि दिउँसोसम्म उपस्थित हुन्छन्, प्राथमिक तहका बिद्यार्थीहरु साँझ ३-५ बजेसम्म अनि जुनियर हाई-स्कूलका बिद्यार्थीहरु लामो बिदाको बेला उपस्थित हुन्छन्। हाल, गर्मी बिदाको कारण, म बिहानदेखि बेलुकासम्म काम गर्छु। म यहाँ स-साना बच्चाहरुको हेरचाह गर्नुका साथै कार्यालयको काम पनि गर्छु जस्तै: विभिन्न प्रकारका कार्यक्रमका लागि योजना बनाउने। मलाई धेरै कामको चटारो छ तर यसैमा म आनन्दित छु |

बहिरा बच्चा तथा विद्द्यार्थीहरुद्वारा पाइएका अनुभवहरु मेरा लागि खजानाजस्तै भएका छन्। आफ्नो कामको माध्यमबाट, म उनीहरुसँगै धेरै चीजको चुनौती सामना गर्न रुचाउँछु अनि यस्तो वातावरण सिर्जना गर्छु जहाँ उनीहरु सिक्न, खेल्न र आफ्नै तरिकाबाट कुरा गर्न सक्छन्। मलाई लाग्छ कि यो मेरो अभियान नै हो| म आशा गर्दछु र विश्वास पनि गर्दछु कि उनीहरुले भविष्यमा बहिरा, सुस्त-श्रवण तथा सुन्न सक्नेहरुलाई पनि समेटी आफ्नो रोल-मोडेललाई भेट्टाउनेछन् अनि आफ्ना क्षमतालाई विश्वास गर्दै आफ्ना सपना बिस्तार गर्नेछन्।

वास्तवमा, बहिरा बच्चाहरुलाई संसारसँग जोडिन अलि गाह्रो छ किनकि प्राय: टीभी नाटक, कार्टुन, चलचित्र र कमिक्सहरुमा देखिने बाल कलाकारहरु सधैं सुन्न सक्नेहरु नै हुन्छन्। अनि जब एक बहिरा चरित्र मिडियामा देखा पर्दछ, उसलाई कुनै रोमान्टिक नाटकमा मुख्य पात्रको रूपमा प्रस्तुत गरिएको हुन्छ र त्यहाँ केवल मायाप्रीति मात्र देखाइएको हुन्छ तर सामान्य गतिविधिहरु जस्तै: काम गरेको, अध्ययन गरेको तथा खेलकुदमा सहभागी भएको चाहिं देखाइदैन। यदि यस्तो देखाइएको भए पक्कै पनि तिनले बहिरा बच्चाहरुलाई भविष्यको लागि आशावादी हुन प्रेरित गर्थ्यो। जे होस्, म अलि लजाएर भन्छु कि उनीहरुको रोल मोडेल बन्नको लागि म नै आफैंलाई दैनिक समर्पित गर्छु ।

अब मेरोबारेमा भनूँ है त। म जन्मदै केही पनि सुन्न सक्दिनथें । म श्रवण-यन्त्र लगाएर हुर्केंकी हुँ तर म यो आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्दिन । मेरो पहिचान हाई-स्कूलसम्म सुस्त-श्रवण नै थियो तर विश्वविद्यालयमा भर्ना भएपछि चाहिं बहिराको रूपमा पहिचान बनाउने कुरा पनि उठ्यो। तर म आफैलाई बहिरा भनूँ कि सुस्त-श्रवण भनूँ भन्ने दोधारमा छु, यद्द्यपि जुन भनेपनि ठीकै छजस्तो लाग्छ। म मेरो कार्यस्थलमा पूर्ण बहिराजस्तै सांकेतिक भाषाको प्रयोग गर्छु भने आफ्ना अभिभावकसँग चाहि उहाँहरुको ओंठे-चाल पढेर र आफ्नै आवाजले बोलेर कुराकानी गर्छु।

सुन्न नसक्ने व्यक्ति भएकैले यससँग सम्बन्धित अनुभवहरु मसँग धेरै छन्। सकारात्मक अर्थमा भन्दा, म एक अल्पसंख्यक समूहसँग सम्बन्धित हुनाले मैले धेरै नयाँ चीज अनुभव गर्न पाएँ। सांकेतिक भाषा क्षमताले मेरो जीवनमा नयाँ साथीहरु ल्यायो। नकारात्मक अर्थमा भन्दा, हामीले प्राप्त गर्न सक्ने कुनैपनि कुराको जानकारीको मात्रामा अलि असमानता छ। जे होस्, अचेल अत्याधुनिक आईटी ग्याजेट्सहरुले गर्दा यो समस्या धेरै हदसम्म कम भएको छ तर मलाई लाग्छ कि यो अझै पनि पर्याप्त भने छैन।

म विशेषगरी हाई-स्कूल अध्ययनरत बिद्यार्थीहरुलाई यहाँ यस्तो सल्लाह दिन चाहन्छु; पहिला आफूलाई केमा रुचि छ, त्यो पत्ता लगाउनुहोस् अनि बल्ल विश्वविद्यालय वा व्यावहारिक तालिम दिने स्कूल जाने भनेर विकल्पहरु समावेश गर्नुहोस्। यहाँ स्कूल-शिक्षापछि तुरुन्तै जागिर पाउन क्यारियर छनौट गर्ने प्रावधान छ तर यहाँ तपाइँको रुचिलाई अझ गहिरो बनाउने विकल्प पनि छ जसले तपाईलाई नयाँ संसारबारे जान्न र धेरैभन्दा धेरै मानिसहरुलाई भेट्न सहयोग गर्न सक्छ। त्यसैले हरेस नखानुहोस्। यदि तपाइँलाई तपाइको रुचिबारे थाहा छैन भनेपनि हतार नगर्नुहोस् किनकि यसबारे तपाइँले जीवनको कुनै न कुनै मोडमा थाहा पाउनुहुनेछ। क्यारियर छनौट गर्दा स्वाभाविक रुपमा कानको समस्याले गर्दा विभिन्न अरु समस्याको पनि सामना गर्नुपर्नेछ तर तपाइँको समय कहिल्यै खेर जानेछैन, बरु यसले तपाइलाई अझ उज्ज्वल भविष्यतर्फ डोर्याउनेछ। “यदि तपाईले आफैलाई तपाइँ के हो र कहाँ जानुपर्छ भनी सोधिरहनुभयो भने तपाईले यसको जवाफ पाउनुहुनेछ।” म तपाईलाई यो कुरामा विश्वास गरी एउटा नयाँ बाटो खुल्न दिनुहोस् भन्न चाहन्छु।

अन्तमा, म सांकेतिक भाषा नजान्ने सुन्न सक्नेहरुलाई यो सन्देश व्यक्त गर्न चाहन्छु; यदि तपाइ वरपर कुनै बहिरा वा सुस्त-श्रवण व्यक्ति छन् भने उनीहरुलाई बुझ्ने प्रयास शुरू गर्नुस्। उदाहरणको लागी, तपाईको रुचिबारे मात्र भएपनि उनीहरुसँग कुरा गर्नु पर्याप्त छ। मलाई लाग्छ कि यो कदम एक सहजीवी समाज निर्माण गर्न महत्वपूर्ण छ। संचारको लागि सांकेतिक भाषा जान्नैपर्ने जरुरी छैन किनकि अचेल एउटा यस्तो सजिलो मोबाइल-एप छ जसले तपाइको आवाजलाई लिखित शब्दहरुमा परिणत गरिदिन सक्छ। कृपया प्रयाससमेत नगर्दै उनीहरुलाई जान्न तथा बुझ्न नछाड्नुहोला। धन्यवाद !

Nepali Sign Language

皆さんの友達にも届きますように。Please Share!!
目次
閉じる