मेरो अँध्यारो विगत

目次

मेरो अँध्यारो विगत

नमस्ते, म विष्णु मगर, नवलपरासीबाट | म बहिरा व्यक्ति हुँ र मेरो कथा यसप्रकार छ |

म मध्यमवर्गीय परिवारमा सामान्य बच्चाको रूपमा नै जन्मेको र प्रशस्त माया-प्रेम पाएर हुर्केको हुँ | म सानैदेखि अध्ययन गर्न तथा सिक्नमा तेज र उत्साहित थिएँ । मेरो बुबाले ममा डाक्टर छोरोको सपना देखेका थिए रे तर अफसोस, मेरो जीवनमा यस्तो अनौंठो मोड आयो जो न कुनै दुर्घटना वा न कुनै रोगको नतिजा हो तर यो पूर्णतया एकजना मानिसको जिम्मेवारी हो जसले मलाई पूर्ण रूपमा बहिरा बनायो। जे होस्, अहिले भने मैले मेरो अँध्यारो विगतलाई भुलाइसकेको छु, यसलाई आज मात्र मेरो सम्झनाको दराजबाट झिकेको हुँ |

त्यो वर्षातको मौसमको बेलामा हो जतिबेला म कक्षा-५ मा पढ्दै थिएँ। सबै धान रोप्नमा व्यस्त थिए र त्यही व्यस्त घडीमा, मेरी बज्यै अचानक बित्नुभयो जसले गर्दा म किरिया नसकुन्जेल ९ दिनसम्म स्कूल जान सकिनँ । ९ दिनपछि चाहिं म सदाझैं स्कूल गएँ।

तेस्रो पिरियडमा अँग्रेजीको विषय थियो र मलाई थाहा थिएन कि सरले अघिल्लो दिन शब्द-अर्थ याद गर्न भनेका रहेछन्। उनले सबैलाई एक-एक गरी सोधिरहेका थिए र जब मेरो पालो आयो, मैले उनलाई भनें;

‘सर, म ९ दिनसम्म अनुपस्थित थिएँ।‘

‘किन?’ उनले रिसाउँदै सोधे।

‘मेरो बज्यै बित्नुभयो, त्यसैले।’

‘ए, तँ जान्ने विद्द्यार्थी भएर पनि त्यत्रो ९ दिनसम्म स्कूल नआउने ? हँ, तँ गधा-मूर्ख !’ उनले त्यसपछि आफ्नो देब्रे हातले मेरो कपाल लुछ्दै दाहिने हातले चाहिं कानमै लाग्ने गरी झ्याम—झ्याम मेरा दुवै गालामा हिर्काउन थाले। उनी यति रिसाएका थिए कि उनले मलाई १५-२० चोटि हिर्काएछि बल्ल थामिए। मैले आँसु खसाल्दै सहनुबाहेक केही गर्न सकिनँ। कुटेपछि उनले मलाई कसैलाई नभन्न हुकुम गरे नत्र अर्को दिन मलाई कडा सजाय दिइनेछ। म पूरै पिरियडभरि पढाइमा ध्यान दिन नसकी टाउको डेस्कमा घोप्टो पारेर चुपचाप रोइरहे अनि अर्को पिरियडमा पनि त्यस्तै गरें। त्यसपछि हाफ-छुट्टी भयो। मलाई त्यसपछि अन्य कक्षा लिन मन लागेन र त्यसैले म छिट्टै घर फर्कें |

म सधैं खुशी हृदयले स्कूलबाट घर फर्कन्थें तर त्यो दिन म आँसुले भरिएर दुःखी भएर फर्कदै थिएँ। मेरी आमाले तुरुन्त मलाई के भयो भनेर सोध्नुभयो। जब मैले उनलाई देखेँ, मैले मेरो आँसु थाम्न सकिनँ र रुँदै शिक्षकले मलाई कुटे भनें । त्यसपछि उहाँले मलाई शिक्षकको नाम सोध्नुभयो तर मैले भनिनँ। मैले भने, “यदि मैले तपाईलाई उनको नाम बताएँ भने, तपाईले भोलि स्कूलमा गुनासो गर्नुहुन्छ अनि उनले मलाई फेरि कुट्नेछन्।” त्यसैले, मैले उहाँलाई त्यतिखेरै भनिनँ तर राति खाना खाएपछि उहाँले फेरि सोध्नुभयो र स्कूलमा गुनासो गर्दिनँ भनेर आश्वासन पनि दिनुभयो अनि अन्तमा मैले उहाँलाई सरको नाम बताइदिएँ।

त्यो रात मेरो कान यति दुख्यो कि म रातभरि छटपटाएँ, र यस्तो अर्को दिन पनि जारी रह्यो। दुखाई निको भएपछि चाहिं मेरो कान कहिले हावा भरिएकोजस्तो अनि कहिले टम्म टालिएकोजस्तो हुन थाल्यो । दिनहरू बित्दै जाँदा, मेरो कानको सुन्ने क्षमता अलिअलि गर्दै हराउन थाल्यो जबकि एकदिन मैले यो क्षमता पूर्ण रूपमा गुमाएँ अर्थात् म पूर्ण रुपमा बहिरा भएँ | अनि पछि अस्पताल जाँदा डाक्टरले ‘ढिला भइसक्यो, अब केही गर्न सकिन्न’ भनेर बताए |

बिस्तारै सबै शिक्षकहरूलाई मेरो अवस्था’bout थाहा भयो तर कसैले पनि तुरुन्तै ध्यान दिएनन्। ४-५ महिनापछि मात्र अर्का एक शिक्षकले मलाई र मेरी आमालाई स्कूलमै बोलाएर सोध्न थाले। त्यतिखेर मैले साहस बटुलेर सबैकुरा भने तर अफसोस, ती सरले मेरा कुरा पत्याएनन्, बरु सरले पिटेर नभई अरु नै कुनै कारणले मेरो कान नसुन्ने भएको होला भने | मैले पछि थाहा पाएँ कि ती सरले मलाई भेटेपछि स्कूलमा बैठक राखे रे तर कुट्ने सरलाई भने कुनै कारबाही भएन | अचेल म बुझ्छु कि त्यो पनि एक किसिमको राजनीतिजस्तै थियो अर्थात् स्कूल-शिक्षकहरूको राजनीति। भोलिपल्ट स्कूल जाँदा म उही सरले कुट्लान् कि भनी डराएको थिएँ तर धन्न उनले केही गरेनन् तर राता-राता आँखा पल्टाई मलाई घुरेर हेरे|

समय बित्दै जाँदा मैले मेरो पीडा सहिदिएँ वा भुलिदिएँ र आज म बी.एड प्रथम वर्षमा पढ्दैछु अनि आफैले पनि प्राथमिक तहका केही स्थानीय बहिरा विद्यार्थीहरूलाई पढ़ाउँछु। अहिले वयस्क भएपछि बल्ल मैले एकपटक पुराना कुरा सम्झेर ती कुट्ने सरको विरुद्ध मुद्दा हालूँ कि भन्ने सोंचें तर मैले विचार बदलें  किनकि नेपालको झन्झटिलो र दिक्क-लाग्दो कानुनी प्रक्रियामा अल्झिनु भनेको समय र पैसा दुवै बर्बाद गर्नु हो । जे होस्, क्रुर भएपनि-नभएपनि उहाँ मेरा गुरु थिए। त्यसैले मैले उहाँलाई माफ गरी विगतलाई बिर्सेर अगाडि बढें। मेरो यो कथाले आजका कुटुवा शिक्षकलाई आफ्नो नराम्रो बानी छाड्न सिकाओस् र भविष्यमा कसैले पनि मैलेजस्तो चड्कन नपाओस् भन्ने चाहन्छु। धन्यवाद !

Nepali Sign Language

皆さんの友達にも届きますように。Please Share!!
目次
閉じる