भेदभाव अन्त्य गरौँ

目次

भेदभाव अन्त्य गरौँ

नमस्ते म पार्वती माया राना बुटवलबाट | मैले १३ वर्षको उमेरमा अचानक आफ्नो श्रवण-शक्ति गुमाएकी हुँ |

पहिलोचोटी अस्पताल जाँदा मलाई डाक्टरले श्रवण-यन्त्र लगाएर सुन्न सकिन्छ भने र यस कुराले म खुशी भएँ तर त्यो लगाएपछि मैले केही मात्रामा आवाज त सुनें तर बुझ्न सकिएन अनि केही समयपछि त्यसले कामै गरेन | मलाई श्रवण-यन्त्रको ब्याट्री फेरिरहनुपर्ने वा चार्ज गरिरहनुपर्ने रहेछ भन्ने कुराले दिक्क पार्यो, अझै त्यस्ता ब्याट्रीहरु महँगो र सजिलै पाउन नसकिने रहेछ भन्ने थाहा पाउँदा पनि झनै दिक्क लाग्ग्यो | तर जे होस्, राम्ररी सुन्ने आशामा मैले धेरै श्रवण-यन्त्र फेरिरहें तर अलिकति मात्र सुन्दै र बुझ्दै आएँ |

अब, तपाईहरु आफै कल्पना गर्न सक्नुहुन्छ कि मैले पढाइमा कति संघष गरें होला ? मैले साथीहरुको नोट सारेर अनि आफ्नै दिमागले पढें | म अत्यन्त जरूरी पर्दा मात्र बोल्थें किनकि कानकै समस्याले गर्दा धेरैजसो चुपै बस्नु मेरो बाध्यता थियो | कहिलेकाहीं, गुरुले मलाई प्रश्न सोध्थे तर नबुझ्दा म उहाँलाई प्रश्न फेरि दोहोर्याउनोस् भन्थें | त्यसपछि उहाँले दोहोर्याउन त दोहोर्याउँथे तर निकै ठूलो स्वरमा मेरो कानले झनै मेसो नपाउने स्वरमा दोहोर्याउँथे | अनि मैले फेरि पनि नबुझ्दा उहाँको रीसको पारो चढ्थ्यो र मैले कुटाइ खानुपर्थ्यो | त्यतिबेला मलाई बुझ्ने त्यहाँ कोही पनि थिएन र त्यसैले मैले जहिले पनि सुन्न नसकेकैले कुटाइ खानुपर्थ्यो | त्यस्तो हुँदा मलाई बेस्सरी रुन मन लाग्थ्यो र मलाई मात्र किन यस्तो भएको होला भनी पिरोलिरहन्थें |

म जहिले पनि आफू वरिपरी सुन्न सक्ने व्यक्तिहरुको माझ हुन्छु, त्यसैले आफूलाई एक्लो र छुट्टिएकोजस्तो सोंच आउनु स्वाभाविक नै थियो | म पनि अरुजस्तै कुरा गर्न र रमाइलो गर्न चाहन्थें तर ती सबै व्यर्थ हुन्थ्यो | अझै, कसै-कसैले त मलाई जिस्काउन वा हेपेर म बोल्न सक्ने जान्दाजान्दै पनि मलाई ‘लाटी’ भन्थे | यस कुराले मलाई रीस उठ्थ्यो तर चुपचाप सहनुको विकल्प थिएन किनकी त्यस्ता अबुझहरुसित विवाद गर्नु निरर्थक थियो | अहिले पनि मलाई कसैले ‘लाटी’ भनेको मनपर्दैन, ’emलाई म जोडले कराएर भन्न चाहन्छु, ‘म लाटी होइन, म बोल्न सक्छु, बुझ्यौ ?’

स्नातक-अध्ययनमा सजिलो होस् भनेर मेरा अभिभावकले मलाई कक्लियर इम्प्लान्ट पनि गराइदिए | यसले पनि मलाई स्पष्ट रुपमा सुन्न त दिएन तर जे होस् जसोसो व्यवस्थापन संकायमा स्नातक पूरा गर्न सघायो भन्दा हुन्छ | त्यसपछि म साथीहरुसँग काम खोज्नतिर लागे तर या त म सिधै अस्वीकृत हुन्थें, या त मलाई रोजगारदाताबाट पछि बोलाउँला भन्ने झुटो आश्वासन मिल्थ्यो जबकि ’emले मलाई कहिल्यै बोलाएनन् | पछि थाहा भयो कि सँगै  गएका साथीहरुले चाहिं काम पाएछन् तर मैले पाइनँ | त्यसैले म सोंच्छु कि म कान राम्ररी नसुन्ने भएकैले भेदभाव गरिएकी थिएँ |

मैले सुस्त-श्रवणसम्बन्धि संस्था ‘श्रुति’’को सम्पर्कमा आएपछि बल्ल आफ्नो वास्तविक परिचय थाहा पाएकी हुँ नत्र योभन्दाअघि मलाई सुस्त-श्रवण भन्नाले कसलाई भनिन्छ भन्ने कुरा पनि थाहा थिएन | जे होस्, मलाई आत्मविश्वास छ कि म पनि श्रवण क्षमता गुमाएका व्यक्तिहरुको भलाइको निम्ति काम गर्न सक्छु र त्यस्तै अवसरको निम्ति खोजीमा पनि छु | अझै भन्नुपर्दा, म मजस्ताहरुप्रति समाजको भेदभाव अन्त्य गर्न चाहन्छु र हामी पनि सक्षम छौं भनी जनचेतना जगाउन चाहन्छु | हाम्रो कान पो कमजोर भयो तर हाम्रा पाखुरा गह्रौं कामको भारी पनि उचाल्न सक्ने बलिया छन् | म सोध्न चाहन्छु, हाम्रो पेट हातले पाल्छ कि कानले ? रोजगारदाताहरुले नहिच्किचाई हामीलाई पनि मौका दिनुपर्यो | कान सुन्न सक्ने कर्मचारीहरुलाई नै फोन वा अन्य श्रव्य-सामग्री चलाउन दिने अनि बाँकि काम हामी नै गर्छौं नि, हुन्न र ?

बहिरोपन कुनैपनि कारणबिना वा कारणवश ढिलो-चाँडो जसलाई पनि हुन सक्छ | त्यसैले मलाई लाग्छ, मैले यससम्बन्धि जनचेतना जगाउनुपर्छ ताकि भविष्यमा यस्तो भोग्नेहरु मजस्तै निरुत्साहित र दुःखी नहोउन् बरु परिआएको समस्यासित जुझ्न राम्ररी तयार होउन् | यसकारण, यो पनि टाढा-टाढाका पाठकहरुलाई एउटा चेतनामुलक संदेश हो र म आशा गर्छु कि सबैजनाले हामीसित ऐक्यबद्धता जनाउनेछन् | धन्यवाद !

Nepali Sign Language

皆さんの友達にも届きますように。Please Share!!
目次
閉じる