किन नेपाल ?

किन नेपाल ?

सर्वप्रथम, एउटा प्रश्न सोधूँ है त । तपाईले कहिलै यस्तो अवस्थाको अनुभव गर्नुभएको छ जतिखेर तपाई जहाँ पनि आफुले बोल्ने भाषामा सञ्चार गर्न सक्छु भन्ने ठान्नुहुन्छ तर पछि नसकिने रहेछ भन्ने थाहा लाग्छ ? उदाहरण: जब अंग्रेजी बोल्ने देशका मानिसले फ्रान्स भन्ने देशको भ्रमण गर्छ र त्यहाँ पर्यटकीय क्षेत्र वा रेस्टुरेन्टहरुमा समेत फ्रान्सेलीहरुले अंग्रेजी नबोल्ने वा नबुझ्ने पत्ता लाग्छ । यस किसिमको अनौठो प्रश्न गरेकोमा म खेद प्रकट गर्छु तर सोध्न चाहन्छु, त्यस्तो अवस्थामा परिहाले तपाईलाई कस्तो अनुभूति हुन्थ्यो होला ?

खुशी ? दु:खी ? चिन्तित ? विचलित ?

मेरो अनुभवमा भन्नुपर्दा, मलाई त त्यस्तो अवस्थाले अत्यन्तै खुशी तुल्यायो ।

सन् २०२० को जनवरी महिनामा म नेपालको विराटनगरको एउटा ‘यूमी’ भन्ने स्कूलमा अंग्रेजी शिक्षकको रुपमा  इन्टर्नशिप गर्दै थिएँ ।

यो पनि भनिहालूँ, जापानी भएर पनि मैले किन नेपाल रोजें होला ? यो भन्न मलाई अलिकति लाज लाग्छ तर छोटकरीमा भन्नुपर्दा, मेरी अमेरिकामा पढ्ने प्रेमिका नेपाली भएकीले हो । ल त, अब उही प्रमुख कथावस्तुतिर लागौं । एकदिन त्यहाँको स्कूलमा चार कक्षामा पढ्ने मेरो एउटा विद्यार्थी, अनमोलले मलाई सोध्यो, ‘ सर, तपाई मेरो घरमा नआउने ?’

जब म उसको घर गएँ, त्यहाँ मैले उसको परिवारसँगै बस्ने अरु दुई विद्यार्थी ‘जेनिशा’ र ‘जेनिश’लाई पनि भेटें । मेरो डेरा नजिकै भएकोले त्यसपछि हामीहरु सँगै फुटबल खेल्ने, साइकल कुदाउने र पढ्ने पनि गर्न थाल्यौं । एकदिन फेरि उसको घर जाँदा मैले ढोकैबाट ‘आ…आ’ भनेजस्तो एउटा चर्को आवाज सुनें । जब म भित्र पसें, तब मैले अनमोल र एउटी आइमाईलाई देखें जो उसकी आमा होला भन्ने मैले अनुमान गरें । उनिहरु कुरा गरिरहेका जस्ता थिए तर अनमोल चुपचाप थियो, बरु उसले ती आइमाईसँग ईशारा गर्दै थियो अनि तिनले पनि उही चर्को आवाज निकाल्दै ईशारा गर्दै थिइन् । अनमोलले मलाई देख्यो अनि मलाई बस्न भन्यो । त्यसपछि उसले मलाई तिनको परिचय दियो, ‘सर, उहाँ मेरी आमा ।’ लगत्तै, उनले आफ्ना दुवै हत्केला जोडेर मलाई आवाजविहीन नमस्ते गरिन् । मैले पनि नमस्ते फर्काएँ अनि अंग्रेजीमै  आफ्नो परिचय दिन थालें । उनले मलाई जवाफ दिनुको सट्टा अनमोललाई हेरिन् र अनमोलले प्रत्येकपल्ट औला चाल्दा मुस्कुराइन् र मुन्टो हल्लाइन् । अनमोलले मलाई भन्यो, ‘मेरी आमा बहिरा हुनुहुन्छ, उहाँ सुन्न र बोल्न सक्नुहुन्न । त्यसैले हामी सांकेतिक भाषामा कुरा गर्छौं ।’ अनमोल स्कुलमा त्यति तेज नभएपनि सांकेतिक भाषामा चाहिं तेज देख्दा म छक्क र प्रेरित दुवै भएँ । त्यसपछि मैले पनि उसकी आमासित बोल्न ईशारा प्रयोग गरें । केहि समयपछि अनमोल केही कामले बाहिर गयो अनि उनले मलाई एउटा पहेंलो किताब देखाइन् । त्यो किताब नेपाली सांकेतिक भाषा सिकाउने किताब थियो ।

त्यसमा चित्रसँगै नेपाली सांकेतिक भाषा र अंग्रेजीमा पनि देखाइएको थियो । त्यसैले मैले संचारमा प्रयोग गरें र केही समयमा नै कुनै अवरोधबिना हामी दुवै हाँस्न र कुरा गर्न सक्ने भयौं । त्यही दिन मैले जाति, लिङ्ग, भाषा र अपांगताको बावजुद पनि अन्तरक्रिया गर्न सक्दाको रमाइलोपन महसुस गरें । त्यो नै एउटा बहिरा व्यक्तिसितको मेरो पहिलो जम्काभेट थियो ।

मैले पछिबाट थाहा पाएँ कि अनमोलका बाबा र अरु दुईका अभिभावक पनि बहिरा रहेछन् । जे होस्, मैले उनीहरुसित धेरै रमाइलो गरे; मीठा-मीठा भोजन खाएँ, उसको बाबासित मोटरसाइकलमा रक्सि किन्न गएँ अनि बाबाहरुसँगै रक्सि पिएँ र मातें पनि, आमाहरुसँग सांकेतिक भाषा सिकें, नजिकको बहिरा स्कुल पनि गएँ, सँगै ‘होली’ पनि मनाएँ इत्यादि । जापानमा फर्किसकेपछि पनि मैले उनीहरुसित भिडियो-कलद्वारा सम्पर्ल गरिरहें जसले गर्दा म नेपाली सांकेतिक भाषा सिकाउने किताब खोलेर सिक्न सधैं उत्साहित भइरहें ।

अको कुरा, के तपाईहरुलाई ‘कोठामा नाचौं’ भन्ने एउटा जापानी गीत याद छ ? यो गीतले संसार कोरोना विपत्तिले थलेको बेला सबैलाई उर्जा प्रदान गरेको थियो । एकदिन यस गीतलाई एकजना नेपाललाई माया गर्ने जापानी यूट्युबरले नेपाली संस्करणमा यूट्युबमा अपलोड गरे । जब मैले त्यो देखें, तब

मलाई चाहिं त्यो गीत नेपाली बहिराहरूप्रति पनि समर्पित गर्न मन लाग्यो ।

त्यसैले मैले अनमोल र मेरी (बहिरा) साथी सुनितालाई नेपाली सांकेतिक भाषामा गीतको संस्करण निकाल्न सहयोग गर्न भनें । त्यसपछि हामीले गीतलाई यूट्युबमा अपलोड गर्यौं अनि फेसबुकमा शेयर गर्यौं । त्यसपछि आश्चर्यजनक रुपमा मैले सोचेभन्दा बढी हजारौं मित्रहरुको सकारात्मक ‘कमेन्ट’ र ‘लाइक्स’ पाएँ । यसले गर्दा मलाई नेपाली बहिरा साथीहरुसित नजिक हुन झन् उत्साह थपियो ।

त्यसपछि म अझै धेरै नेपाली बहिरा साथीहरुसँग फेसबुकमार्फत भिडियो कल र टेक्स्टद्वारा नजिकिन थालें । त्यहाँ उनीहरुले मलाई आफ्ना अनुभव, संघर्ष, चुनौती, सपना र त्यस्तै अरु धेरै कुरा’bout भनें । यो क्रम चलिरह्यो अनि उनीहरुको कथा सुनेपछि मलाई एउटा कुराचाहिं मनमा खट्कियो, त्यो के भने;

“म बहिरा भएकोले बेरोजगार छु ।”

नेपाल एसियाका गरिब देशहरुमध्येको एक हो जहाँ  दैनिक ज्याला दर लगभग १-१० डलरको हाराहारी मा छ । यद्द्यपि, यो स्थान, जाति र कामको किसिम अनुसार फरक हुन्छ । अनि त्यहाँ धनी र गरिबबीच धेरै ठूलो खाडल छ । अझै भन्नुपर्दा, बेरोजगार दर अति उच्च छ जसले गर्दा सामान्य व्यक्तिहरुलाई पनि काम पाउन गाह्रो छ । त्यसैले, धेरैले बीचमै स्कूल छाड्छन् र विदेशतिर, विशेषगरि खाडी मुलुकतिर कडा श्रम गर्न जान्छन् । त्यस्तो अवस्थामा नेपालमा बहिराहरूको निम्ति धेरै कम मात्रामा मात्र रोजगारीका अवसर छन् भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

तब म के गरूँ त ? पैसा पठाऊँ ?

अहँ, पक्कै पनि त्यसो गर्नु हुँदैन । यदि मैले पैसा पठाएँ भने त्यसले उनीहरुलाई केही दिनको लागि मात्र पुग्छ तर सधैलाई पुग्दैन । वास्तवमा मलाई त्यसो गर्न कसै-कसैले भने पनि तर मैले त्यसो गरिनँ किनकि भविष्यमा मैले त्यसो गर्न सकिनँ भने उनीहरु अर्को व्यक्तितर्फ फर्कने थिए र उसलाई पनि फेरि सहयोग माग्ने थिए । परिणामस्वरुप, उनीहरु स्वावलम्बी हुन प्रयास गर्दैन थिए र अल्छे बन्ने थिए । यस सदर्भमा मलाई एउटा चाइनिज दार्शनिकको भनाइ याद आयो जो म यहाँ व्यक्त गर्न चाहन्छु जसले यसो भन्छन्;

“एउटा मान्छेलाई एउटा माछा देउ, उसलाई एक दिन पुग्छ तर उसलाई माछा मार्न सिकाऊ, उसलाई जिन्दगीभर पुग्छ ।”

त्यसैले म हाम्रो सामुहिक आत्मबलको उच्चतम प्रयोगद्वारा माछा दिनेभन्दा पनि बढी केही गर्न चाहन्छु । यसैकारण, मैले एउटा आयोजना सुरु गर्न सोचें र नै यो यही नमुनाको विकास गर्न पुगें जो सानो छ तर दिगो र लाभदायक छ । अनि म आशा गर्छु कि यसले नेपाली बहिराहरूलाई अलिकति कमाइको साथसाथै आफ्ना सीप सुधार गरी बढ्दै जानमा सहयोग गर्नेछ ।

मलाई आत्मविश्वास छ कि हामीले झट्टै परिणाम हासिल गर्न नसकेपनि वा धेरैलाइ रोजगारी सिर्जना गर्न नसकेपनि हामी पाइला-पाइला चाल्दै अघि बढ्नेछौं । यस आयोजनाअन्तर्गत हामी तपाईलाई कानसम्बन्धि तपाईका आफ्ना अनुभव, विचार र कथाहरु माग्छौं र तिनलाई विभिन्न भाषा (जापानी, अंग्रेजी, नेपाली, जापानी सांकेतिक भाषा र नेपाली सांकेतिक भाषा)मा यहाँ सम्प्रेषण गर्छौं । .अहिलेसम्म धेरै नेपाली बहिराहरूसँग कुराकानी गरेकोले मलाई त्यहाँ प्रत्येकको फरक-फरक कथा, रुचि, सपना र उद्देश्य छन् भन्ने कुरा थाहा भयो । मलाई लाग्छ जापानी र नेपालीबाहेक अरु देशका मानिसहरुले पनि यस आयोजनामा चाख देखाए धेरै राम्रो हुने थियो ताकि यस क्षेत्रमा धेरैको ध्यानाकर्षणको कारण यसलाई विश्वव्यापी रुपमा विस्तार गर्न सकियोस् र यसो गर्न सके मलाई विश्वास छ कि यसले यस्तो संसारको निर्माण गर्न सक्नेछ, जहाँ सबजना सुनाइ समस्याका बावजुद पनि सँगै मुस्कुराउनेछन् ।

यस आयोजनालाई चलायमान बनाउन मलाई सघाउने तीनजना मित्रहरु छन् जसको संक्षिप्त परिचय यसप्रकार छ;

अरुना छन्त्याल

उनी भाषाज्ञानमा गजबले पोख्त मेरा मित्रहरुमध्ये एक हुन् । उनी नेपाली, हिन्दी, अंग्रेजी र आफ्नै जातीय भाषामा पनि लेख्न-पढ्न सक्छिन् । उनलाई साहित्य लेख्न र पढ्न मनपर्छ अनि उनके अमेजनमा समेत आफ्नै पुस्तक प्रकाशन गरेकी छन् । उनी मस्कुलर डिस्ट्रफीबाट पिडित छिन् जसले गर्दा उनको शरीरको तल्लो भाग ज्यादै कमजोर छ अनि त्यसैले उनी व्हिल्चियरमा बस्छिन् । उमेर ढल्कँदै जाँदा पछि उनले आफ्नो सुन्ने क्षमता पनि गुमाएकी हुन् र हाल उनी सुस्त-श्रवण छिन् । म उनका सिर्जना र फरासिलो व्यवहार देखेर प्रभावित भएँ जसले गर्दा नै मलाई उनलाई सहयोग माग्न सजिलो भयो । यस आयोजनामा वेबका पाना तथा कथाहरु अंग्रेजी तथा नेपालीमा अनुवाद गर्ने जिम्मा उनले लिएकी छन् ।

सुनिता थापा

उनी तिनै मित्र हुन् जस’bout माथि भनेको छु कि उनले मलाई जापानी गीतलाई नेपाली सांकेतिक भाषामा व्यक्त गर्न सघाइन् । उनले ‘डस्किन लिडरसिप प्रोग्राम’ अन्तर्गत छनौट भई जापानमा झन्डै एक वर्ष बसी तालिम लिएकी छन् र अचेल नेपालमै बहिरा समुदायबीच सक्रिय भएर काम गर्दै छिन् । तालिमको दौरान उनी जापानी सांकेतिक भाषामा समेत पोख्त भएकी छन् । उनको अन्तर्वार्ता बिबिसी समाचारमा पनि आएको थियो र उनी आफ्नो सन्देशलाई सार्वजनिक रुपमा व्यक्त गर्न निकै सिपालु छिन् । उनी भविष्यमा बहिरा तथा अरु किसिमका अपांगता भएका व्यक्तिहरुलाई सहयोग पुर्याउने एउटा संस्था खोल्न चाहन्छिन् । यस आयोजनामा प्राप्त सामग्रीलाई नेपाली सांकेतिक भाषामा अनुवाद गर्ने र जापानी सांकेतिक भाषा सिक्न चाहनेहरुका निम्ति कार्यशाला चलाउन जिम्मा उनले लिएकी छन् ।

किसन राना मगर

उनी थुप्रै गहकिला संदेश दिई मलाई निरन्तर हौसला दिने मेरा असल मित्रहरुमध्ये एक हुन् । उनी सुन्न सक्ने सामान्य व्यक्ति हुन् जो ‘धौलागिरी बहिरा स्कुल’मा पढाउँछन् । उनी पनि विगतमा ३ वर्ष जापान बसेका थिए र त्यसैले जापान र जापानी सीप’bout ज्ञात छन् । यस आयोजनामा आफूले पढाउने स्कूल’bout सूचना आदान-प्रदान गर्ने, नेपाली सांकेतिक भाषा सिकाउने तथा अनुवाद गर्ने अनि आफ्ना विद्यार्थीहरुसित हाम्रो आयोजनामा सहकार्य गर्ने जिम्मा उनले लिएका छन्।

अन्तमा यस लामो लेखद्वारा पाठकहरुले मेरो अभिरुचि छर्लंग बुझे होलान् भन्ने म आशा गर्छु । साँच्चै नै मेरो चाहना यस्तै छ किनकि म नेपाल र नेपालीलाई माया गर्छु र कुनै दिन नेपालमै घरजम गर्न पनि चाहन्छु । अनि म विश्वास गर्छु कि मेरो अभिरुचिका कारण तपाईहरुलाई पनि सक्दो सहयोग गर्ने उत्साह मिल्नेछ । म धेरैभन्दा धेरै बहिरा नेपालीहरुलाई खुशी बनाउन चाहन्छु जुन चाहिं एउटा यस्तो संसार निर्माण गरेर हुन्छ जहाँ सबैजना सँगसँगै मुस्कुराउनेछन् ।